सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई एक महिनादेखि उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको हो । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । यसैबीच केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौंमा पूर्वउपमेयर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ । बैठकपछि कांग्रेस पार्टी कार्यालयका ‘मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेसले एक कुशल संगठक र सिङगो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ । उहाँको निधनबाट पार्टी र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ त्यस्तै जोशीप्रति सम्मान प्रकट गर्दै चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् । त्यस्तै चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ । जोशीको १३ औँ दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ ।