सोसल मिडिया
Contact Us
युनिकोड
काबुल (अफगानिस्तान), १२ जेठ । लामो सेतो गाउन लगाउने तालिबानको "सदाचार प्रवर्धन तथा दुष्कर्म नियन्त्रण" मन्त्रालयका निरीक्षकहरू झट्ट हेर्दा नैतिकता प्रहरीभन्दा पनि खाद्य गुणस्तर निरीक्षणकर्ताजस्ता देखिन्छन् । उनीहरू अफगानिस्तानमा अझ बढी "इस्लामिक" पहिचान बनाउने तालिबानको उद्देश्यमा अग्रपङ्क्ति खटिएका छन् । उनीहरूको भूमिका बृहद् देखिन्छ। केही महिनाअघि काबुलको एउटा शपिङ सेन्टरमा उनीहरूले विभिन्न सामानको प्रयोग गर्न मिल्ने समय जाँचेका थिए। पसलेहरू उनीहरूले महिलाको शरीर प्रदर्शन गरिएका पोस्टर हटाउन लगाएको पनि सम्झन्छिन् । तर गत साता उनीहरू त्यहाँबाट फर्किएपछि बजारमा त्यस्ता तस्बिरहरू पुनः देखा पर्न थालिसकेका छन्। उनीहरूको अनुगमनमा बीबीसी पनि सँगै गएको थियो । उक्त निरीक्षणको नेतृत्व २५ वर्षे मौलवी महमूद फतिहले गरेका थिए ।
पुरुष पसलेहरू र छेउमा उभिएका अरू मानिसलाई सम्बोधन गर्दै उनले दाह्री पाल्नु र प्रार्थना गर्नुको महत्त्वबारे प्रवचन दिए । "दाह्री पाल्नु भनेको पैगम्बर मोहम्मदको बाटो अनुसरण गर्नु हो," दाजुभाइले दिने सल्लाहजस्तै शैलीमा उनले मुस्कानसहित यसका लाभबारे व्याख्या गरे । "यी मौलवीहरूका दुई वा तीनवटा श्रीमती छन्। यो शक्तिको स्रोत हो," आफूसँगै आएका अरू निरीक्षकतिर देखाउँदै उनले भने । त्यहाँ उपस्थित मानिसहरूलाई उनीसहित अरू सहकर्मीहरूले कुनै समस्या भए सहयोग गर्न तयार रहेको बताए।
एक पसलेले आफूलाई तालिबानको मानिस भएको बताउने एक जनाले सित्तैमा मोबाइल फोन मागेको गुनासो गरेपछि मौलवीले उनको मोबाइल नम्बर टिपे र अनुसन्धान गर्ने आश्वासन दिए । महिलाहरूले लगाउनुपर्ने पोसाकको मापदण्ड तोकेपछि यो मन्त्रालयले धेरैको ध्यानाकर्षित गरेको मात्र खिचेको छैन, आलोचना पनि खेपिरहेको छ । यो महिनाको सुरुमा यो मन्त्रालयले महिलाले बारम्बार बुर्का नलगाई हिँडेको पाइए तिनका पुरुष आफन्तलाई जेल वा अदालत पठाउने आदेश जारी गरेको थियो । तर मौलवीले शपिङ सेन्टरका प्रवचनहरूमा त्यसबारे केही भनेनन् । त्यसबारे किन केही नभनेको भन्ने प्रश्नमा उनको जबाफ थियोः हामीले पुरुषहरूसँग उनीहरूका समस्याबारे मात्र कुरा गरिरहेका छौँ ।"
नयाँ पहिरन मापदण्डबारे "शपिङ सेन्टरका मालिकसँग कुरा गरेर आवश्यक जानकारी टाँस्न भनिसकिएको" उनको भनाइ थियो । शपिङ सेन्टरको भर्याङनजिकै नीलो र कालो रङ्गको बुर्कामा महिलाहरू ढाकिएको चित्र टाँसिएको छ । "मुस्लिम महिलाहरूले बुर्का लगाउनुपर्छ। यो शरियाको आदेश हो," त्यसमा लेखिएको छ । अफगानिस्तान एउटा रूढिवादी देश हो र यहाँ धेरै महिलाहरूले यस्तो आदेश नआउँदै पनि बुर्का र अरू किसिमका घुम्टोले अनुहार ढाक्ने गरेका छन् ।
तर काबुलजस्ता सहरमा कपडाले कपाल मात्रै ढाक्ने वा हालै आएर कोभिडबाट जोगिन प्रयोग गरिने मास्कबाट अनुहार मात्रै ढाक्नेहरू पनि छन् । महिला अधिकारकर्मीहरूले देशबाहिर र भित्रै पनि नयाँ आदेशविरुद्ध आवाज उठाउँदै आएका छन् । उनीहरू अफगानिस्तानमा किशोरीहरूलाई अझै पनि विद्यालयमा जान नदिइएको र महिला कर्मचारीहरूलाई कार्यालयमा नफर्काइएको विषयमा समेत निराश छन् । महिला अधिकारका क्षेत्रमा वर्षौँयताको कमजोर प्रगति पुनः गुम्ने देखिएको छ । तर तत्कालका लागि भने हिजाब लगाउनुपर्ने नयाँनयाँ नियम कार्यान्वयनको प्रारम्भिक चरण निकै खुकुलो छ । तर तालिबानले बिस्तारै कडाइ गर्दै लैजाने चिन्ता धेरैले गरेका छन्। एक महिला टेलिभिजन प्रस्तोतालाई प्रसारणमा देखिँदा अनुहार ढाक्न भनिएको छ । सहरमा अझै पनि अनुहार नढाकेका महिलाहरू सामान्यजस्तै देखिन्छन् ।
नैतिकता प्रहरीहरूले शपिङ सेन्टरमा अनुगमनका क्रममा अनुहार नढाकेका महिलाहरूलाई बेवास्ता गरे पनि वरपरका मानिसहरूले चासोपूर्वक हेरिरहेका देखिन्थे । "हामी हिजाब लगाउने र नलगाउने महिला छुट्ट्याउँछौँ," मौलवीले बीबीसीसँग भने । "कुनै महिलाले हद पार गरेको अवस्थामा हामी उनका अभिभावक खोज्छौँ ।" उनका अनुसार यस्तो घटना हालसम्म भएको चाहिँ छैन। तर उनले भनेको हदको दायराको परिभाषा स्पष्ट छैन । अफगान महिलाहरूले लगाउने पहिरनको नियम मन्त्रालयले नभई अल्लाहले बनाएको उनको तर्क छ । "नैतिक भ्रष्टाचारको सबैभन्दा प्रमुख कारण अनुहार हो। अनुहार नै ढाकिएन भने हिजाबको के अर्थ?" उनी प्रश्न गर्छन् । तर विश्वभरिका मुस्लिमहरू महिलाले अनुहार ढाक्नुपर्छ भन्नेमा विश्वास गर्दैनन् । शपिङ सेन्टरको अनुगमन सकेर निरीक्षकहरू एउटा ट्रकको पछि बसेर बसपार्क पुग्छन् । गुडिरहेका गाडी रोक्दै उनीहरू पुरुषहरू महिला यात्रुसँग नजिक बसेका छन् कि छैनन् त्यसको जाँच गर्छन्। उनीहरूले महिलाहरूलाई सीटमा बस्न दिए नदिएको पनि अनुगमन गर्छन् ।
सन् १९९० को दशकमा तालिबान शासनकालमा अभियुक्तहरूलाई कुटपिट गर्ने कुख्यात कार्यपछि यो मन्त्रालय चर्चामा थियो । मौलवी फतिहका अनुसार आदेश उल्लङ्घन गर्ने बसचालकलाई उनीहरूको कार्यालयमा लगेर एक दिन र एक रात राखिन्छ । "त्यसपछि उनलाई यो अल्लाह र उनका दूतको आदेश भएकोबारे जानकारी गराइन्छ। अर्को दिन उसलाई वाचा गराउँछौँ र उसलाई जान दिन्छौँ," उनले भने । हाम्रो अगाडि निरीक्षकहरू निकै नरम र भद्र व्यवहार गरिरहेका देखिन्थे । उनीहरू गएपछि हामीले कुराकानी गरेका स्थानीयवासीले पनि यो समूहबारे आफूहरूको कुनै गुनासो नरहेको बताए ।
तर यसले तालिबान थप कठोर बन्दै गएको भने देखिन्छ । नयाँ आदेश जारी भएको केही समयमै महिला अधिकारकर्मी लेला बसीम चढेको बस नैतिकता प्रहरीहरूले रोकेका थिए ।
एक निरीक्षक बसको पछाडि लट्ठी बजार्दै भित्र छिरे। दुई महिला यात्रुले मात्रै बुर्का लगाएका थिए । "अरूले मजस्तै कालो गाउनमा सर्किजल मास्क लगाएका थियौँ," बसीमले बीबीसीसँग भनिन् । "मैले उनलाई यहाँ हिजाब नलगाएको कोही पनि छैन भनेँ ।" त्यसपछि ती व्यक्ति रातो अनुहार लगाउँदै फर्किएको बसीमले बताइन् । "उनले मलाई नहेरी पछाडि फर्केर 'तिमी निर्लज्ज रहिछौँ। यो अब अफगान गणतन्त्र होइन, इस्लामिक इमिरेट्स हो। तिमीले जे चाह्यो त्यो अब चल्दैन' भने," उनले सुनाइन् ।
तालिबानका निरीक्षकले केटीहरूका लागि विद्यालय बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शनमा गएकी बसीमलाई अमेरिकीहरूको पक्षमा लागेको र अमेरिकी संस्कृतिमा बस्न चाहेको आरोप लगाए। त्यसपछि बसचालकले बसीमलाई थप तर्क नगर्न बिन्ती गरे । अरू चालकहरूले कसिलो लेगिङ्स लगाएका महिलाहरूलाई बस चढ्न नदिन भनिएको बीबीसीसँग बताए। तर अनुहार नढाकिएकै कारण महिलाहरूलाई बस चढ्नबाट वञ्चित नगर्न उनीहरूलाई भनिएको छ । गत अगस्टमा तालिबानले शासन हातमा लिएपछिको प्रारम्भिक चरणमा उनीहरूले नरम नीति लिएका थिए। तालिबानले समाजलाई नियन्त्रित गर्न नयाँ कानुनहरू समेत ल्याएको थिएन । तर केही महिनायता उनीहरूले कडा नीति लिएका छन् । देशमा आर्थिक सङ्कटका बाबजुद पनि उनीहरूको ध्यान सामाजिक प्रतिबन्धहरूमा कडाइ गर्नेतर्फ देखिन्छ । सदाचार मन्त्रालयले महिलाहरूलाई लामो दूरीको बसयात्रा एक्लै गर्न रोक लगाएको छ । महिला र पुरुष काममा जाने र उद्यानहरूमा जाने फरकफरक दिन तोकेको छ । उनीहरूको गतिविधिबाट धेरै अफगान नागरिकहरू अब के हुने हो भनेर चिन्तित देखिएका छन् ।
"उनीहरूले बिस्तारै सुरु गर्दै छन् र अलिअलि गर्दै उनीहरू सन् १९९० को दशकमा जस्तै हुने छन् भन्नेमा म ढुक्क छु," आफू र आफ्नी छोरीको भविष्यबारे चिन्ता व्यक्त गर्दै एक पसलेले भने । महिला अधिकारकर्मी बसीम महिलाहरूले अनुहार ढाक्ने कानुन स्वीकार गरे तालिबानले अझै कडा प्रतिबन्धात्मक नियमहरू ल्याउने चिन्ता व्यक्त गरिन् । तालिबानको जस्तो प्रतिबन्ध अहिले कुनै पनि मुस्लिम देशमा छैन । तालिबानका सदाचार प्रवर्धन तथा दुष्कर्म नियन्त्रण मन्त्रालयका नैतिकता प्रहरीले समाजबाट नैतिक भ्रष्टाचार निर्मूल बनाउने दाबी गरिरहँदा अधिकारकर्मी बसीमको प्रश्न छः "नैतिक भ्रष्टाचार भनेको के हो? समाजको आधा अधिकार खोसिएपछि मात्र यो हट्ने हो कि ?" । –बीबीसी