ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो

एकै दिन तीन हजारभन्दा बढीको मृत्यु
बुधबार, चैत ११, २०७७

रियो डे जेनेरियो । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण झन् बढेको देखिएको छ ।  यहाँका अधिकारीले दिएको जानकारीअनुसार यहाँ मंगलबार मात्र त्यसअघिको २४ घन्टाभित्रमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन हजार २५१ जना पुगेको छ ।  योसँगै यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारसम्ममा ब्राजिलका दुई लाख ९८ हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । 
यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।  ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८० हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित विरामी भेटिएका छन् । मन्त्रालयले जनाएअनुसार केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । यहाँ अहिले सम्ममा एक करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत सातादेखि नै यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो । पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको छ ।  यहाँका अस्पतालमा निकै ठूलो संख्यामा सङ्क्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार