सोसल मिडिया
Contact Us
युनिकोड
बङ्गलादेश । दक्षिणी बङ्गलादेशको रोहिङग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बङ्गलादेशी अधिकारीले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाले जनाएका छन् । रोहिङग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविर आगोले डढेर खरानी भएका थिए । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर)का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताउनुभयो । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । शिविर ध्वस्त भएसँगै शरणार्थी आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौँ व्यक्तिको रुवाबासी भएको छ । म्यान्माको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बङ्गलादेशमा निकै साँघुरा शिविरमा रहेका छन् । यी शरणार्थी सन् २०१७ मा बढी मात्रामा बङ्गलादेश आइपुगेका थिए । हाल बङ्गलादेशको रोहिङग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो । बङ्गलादेशले रोहिङग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मा र बङ्गलादेशबीच सहमति भएपनि रोहिङ्ग््या शरणार्थी म्यान्मामा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् । रोहिङग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए । – एपी