सोसल मिडिया
Contact Us
युनिकोड
सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हुन् । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो । खोप लगाएका मानिसमा रगत जम्ने समस्या देखापरेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानमा खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको थियो । राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर खोप लगाएको यहाँका टेलिभिजनले देखाएका थिए । राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जाँदै छन् । उनी आगामी जुन महिनामा विदेश भ्रमणमा जाँदैछन् । त्यसैले सो भ्रमणसमेतलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएका हुन् । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनःयो खोप लगाउन थालेका छन् । ती देशमा पनि यो खोप लगाएका विरामीमा रगत जम्ने समस्या देखापरेको भन्दै सो खोप रोेकेका थिए । तर अहिले भने युरोपियन मेडिसिन एजेन्सीले यस्तो समस्या नदेखिएको र खोप सुरक्षित रहेको भनेपछि उक्त खोप ती युरोपेली देशले पनि लगाउन थालेका हुन् । विश्व स्वास्थ्य संगठनका विज्ञले खोप सुरक्षित रहेको दाबी गरेका थिए । विश्वमा हाल २७ लाख ३५ हजारभन्दा बढी मानिसको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाइमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्णसत्यता छैन । विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।– सिन्ह्वा