सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए ।
त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन् । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीको अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो । तत्कालीन राजा वीरेन्द्रले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन । यसअघि राष्ट्रपति भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि विहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा ढाका गएकी हुन् ।
राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ८ः४० बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजबाट बङ्गलादेश प्रस्थान गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए । विमानस्थलमा राष्ट्रपतिको विदाइका लागि मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए ।
राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप् साद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी सम्लग्न छन् । त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा सहभागी छन् । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।