नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै एमालेले पठायो पत्र

तीन दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार
सोमबार, चैत ९, २०७७

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित अन्य तीन जना नेतालाई ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । एमालेका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नेताहरूका घरमा नै एमालेका कार्यालय सहयोगीले पत्र पु¥याएका हुन् । एमालेको माधवकुमार नेपाल पक्षले गत साता राष्ट्रिय कार्यकर्ता भेला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले पूर्व महासचिव नेपालबाहेक एमालेका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई स्पष्टीकरण पत्र पठाएको छ । स्पष्टीकरण पत्रको ब्यहोराबारे उनले भने, ‘पाटी भित्र समानान्तर समितिहरू बनाएको देखियो । उहाँहरूले समानान्तर कार्यक्रमहरू गर्नुभयो जुन पार्टीमा निर्णय भएको छैन । त्यही भएर किन यसो गरेको हो भनेर सोधिएको हो ।’
स्पष्टीकरण सोध्नुको औचित्य छैनः रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण सोध्न पठाएको भनिएको पत्र आफूले प्राप्त नगरिसकेको बताएका छन् । तर उनले ‘अवैध, अनुचित र अलोकतान्त्रिक ढङ्गले सोधिएको स्पष्टीकरणको कुनै औचित्य नहुने’ प्रतिक्रिया दिएका छन् । उनले पार्टी अध्यक्ष पनि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूखुसी पदाधिकारी नियुक्ति गरेको, राष्ट्रिय महाधिवेशनको मिति तय गरेको र पार्टीभित्र विभाजनको रेखा कोरेको’ आरोप लगाएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझेका हुन् । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार