कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनःलकडाउन  

शनिबार, चैत ७, २०७७

पेरिस । फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन् ।  प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्काे कुनै पनि विकल्प नरहेको बताएका छन् ।  भाइरसको प्रकोप बढेका यहाँका १६ ओटा राज्यमा लकडाउनको घोषणा गरिएको छ तर सो लकडाउन विगतको जस्तो नभएर केही हल्का भने गरिएको बताइएको छ ।   यो लकडाउनका समयमा मानिसलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।
विद्यालय यहाँको सरकारले तय गरेका मापदण्ड पूर्णरुपमा लागू गरेरमात्र खोल्न सकिने बताइएको छ । त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ । त्यसैगरी रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योग खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् । फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।– सिन्ह्वा

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार