सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारुढ दल नेकपा विभाजनको संघारमा पुगेका बेला चिनियाँ रक्षा मन्त्री नेपाल भ्रमणमा आउन लागेका छन् । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औ वर्षगाँठ मनाउन चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका जनरल वेइ फेङह नेपाल आउन लागेका हुन् । चीनले रक्षामन्त्री नेपाल आउने विषयमा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत थालेको छ । गत वर्ष अक्टोवरमा चिनियाँ राष्ट्रपति सि चीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनानः सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा उनी सहभागी हुने छन् । एक वर्षयता भारतले सुरक्षा कुटनीतिलाई महत्व दिइरहेका बेला चीनले पनि रक्षामन्त्री नेपाल भ्रमणका पठाएको छ । नेपालको भूभाग लिपुलेक लिम्पियाधुरा कालापानी समेटिएर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो भूभागसहितको नयाँ नक्सा जारी त्यसको प्रतिउत्तर दिएपछि नेपाल–भारत सम्बन्ध चिसिएको बेला भारतले सुरक्षा कुटनीतिलाई महत्व दिएको छ । नेपालमा भारतका कुनै पनि अधिकारीहरुको औपचारिक भ्रमण नभइराखेको सन्दर्भमा भारतले गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामान्तकुमार गोयललाई नेपाल पठाएको थियो । त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक २० गते नेपाल भ्रमणमा आएका थिए । भारतका विदेशसचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउँदै छन् । सरकारी तहमा चिनिया अधिकारीहरुको कुनै भ्रमण नभएपनि सत्तारुढ दल नेकपाले आयोजना गर्ने विभिन्न भर्चुअल कार्यक्रममा भने चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले सम्बोधन गरिरहेका थिए । राजनीतिक स्रोतले जानकारी दिए अनुसार अहिलेको १० दिन भित्रै चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने भएका हुन् । जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र र केन्द्रीय सैन्य आयोगका प्रमुख हुन् । नेपालमा सत्तारुढ दल नेकपा आन्तरिक विवादमा फसेको बेला उनको यसप्रकारको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलको सचिवालय बैठक मंसिर १३ गतेलाई राखिएको छ । सत्तारुढ दलको विवाद मिलाउन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छिको सक्रियता पछिल्लो समय बढिरहेको छ । राजदूत यान्छिले नेकपालाई विभाजनबाट रोक्न प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिनु परे पनि तयार रहन भनेको समाचार सार्वजनिक भएको छ ।