सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमाले संस्थापन पक्षले भोलि शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले भाग नलिने निर्णय गरेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान संसदीय दल र केन्द्रीय कमिटीको बैटक बोलाएका छन् । तर माधव–झलनाथ समूहले दुबै बैठकमा नजाने बताएको छ । बानेश्वरमा बसेको माधव–झलनाथ समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निजी निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिस्कारको निर्णय गरेको छ । दलको कार्यालय वा संसद् भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने उनीहरुको भनाइ छ । यस्तै २८ फागुनमा ‘विधान उल्लंघन गर्दै भएको निर्णय’ खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने माधव–झलनाथ समूहको निर्णय छ । ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ बानेश्वर बैठकको निर्णयमा उल्लेख छ । सर्वाेच्च अदालतको फैसालाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । माधव–झलनाथ समूहले भने सर्वाेच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ । राजधानीको सानेपामा यही ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको यो समूहले त्यही कमिटी ब्युँताउने समेत निर्णय गरेको छ ।