सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । यसअघि पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा खरेलले भने, ‘प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के–के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ ।’ खरेललाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता पदमा नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए । यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वाेच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो । उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । त्यति बेला उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए ।