युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

अमेरिकामा १० करोडले लगाए खोप
शुक्रबार, चैत ६, २०७७

पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गरेका छन् ।  रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।  युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान शुरु गर्ने बताएका छन् । 
फ्रान्समा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै शनिबार रातिदेखि एकमहिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी सङ्क्रमित भेटिएका थिए ।  पेरिसमा अत्यावश्यकबाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपि, विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्विडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेका हुन् ।
अस्ट्राजेनिकालाई हाल कोभाक्समा समावेश गरिएको छ । कोभिडविरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समानरुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ । उता, फिलिपिन्सका औषधि नियामक निकायले रुसले विकास गरेको स्पुतनिक भी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । फिलिपिन्सले ५० लाखदेखि एक करोड डोज खोप लिने योजना बनाएको छ ।  संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौँ डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ ।  ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टि गरिन् ।–एएफपी
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार