सोसल मिडिया
Contact Us
युनिकोड
पेरिस । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा पनि झन् बढेका स्थानहरुमा लकडाउन घोषणा गरेका हुन् । बढी प्रभावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा उनले गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोले करीब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए । प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् । पहिलेका लकडाउनमा यहाँ एक किसिमले कफ्र्यू नै लगाएजस्तो हुने गरेकामा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ । कोरोना भाइरसको महामारीको शुरुमा युरोपमा अति प्रभावितमध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला दुई महिना लकडाउन गरेर खुला गरिएको थियो । पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेरमात्र विद्यालय खोल्न सकिने बताइएको छ । काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ । प्रधानन्त्रीले पत्रकार सम्मेनलमा भनेका छन्, ‘रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् । तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् ।’ फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् । गएको २४ घण्टायताको अर्थात् बिहीबार मात्रको तथ्याङ्कमा यहाँका ३५ हजार जनामा यो सङ्क्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो सङ्क्रमणबाट निधन नै भएको छ । यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ । फ्रान्समा अहिलेसम्ममा करीब ४२ लाख जनालाई यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।– सिन्ह्वा