सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहेका छन् । तामाङले एमालेको संसदीय दलको विधान विसं २०७२ यता संशोधन नभएकाले त्यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए । यही चैत ७ गते बस्ने संसदीय दलको अर्काे बैठकले संशोधन विधान पारित गर्ने बताइएको छ । उनले पुरानो विधानका आधारमा २५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरिएको बताए । बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्यका रूपमा रहेका छन् । यस्तै बोर्ड सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु¥याल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा.बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला विक, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने रहेका छन् । एक जना पछि मनोनयन गरिने जनाइएको छ । उनले बैठकमा नआउनेलाई कारवाही गर्नका लागि कुनै छलफल नगरिएको स्पष्ट पारे ।