अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गरिँदै

सोमबार, वैशाख १९, २०७९

दार्चुला, १९ वैशाख । दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।  हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका सङ्कलक वैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताउनुभयो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । 
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए। अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमतिपत्र वितरण भइरहेको जनाएको छ ।
सङ्कलन गर्न भने जेठ दोस्रो सातादेखि पाइने कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा सङ्कलकले प्रतिव्यक्ति रु ५००,  संरक्षण क्षेत्र बाहिरकाले रु दुई हजार र जिल्ला बाहिरकाले परिचयपत्र लिनका लागि रु तीन हजार तिनुपर्ने व्यवस्था छ । अनुमतिबिना सङ्कलन गरे यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । दार्चुलाको व्यासको अपिफेद, दूधिवन, अपिहिमालको चाइमेटला, सातगङ्गा, लोलु, रोखापु, धरमघरलगायत क्षेत्रमा यार्सागुम्बा पाइन्छ । जिल्लाबाट वार्षिक ५ देखि ७ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुन्छ ।

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो
मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।  जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरुलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ । यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् । जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “यार्सागुम्बा सङ्कलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ,” उनले भने । नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । असार अन्तिम हप्तासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा सङ्कलनको पूर्जी दिइन्छ । 
यार्सागुम्बा सङ्कलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ ।  
दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो । यसवर्ष जडीबुटी सङ्कलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।–रासस 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार