सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १८ वैशाख । शब्द घर प्रालिको प्रकाशन संस्था शब्दपाटीले आइतबारदेखि ‘निरन्तर सम्बाद’ कार्यक्रम सुरु गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आइतबार शब्दपाटी कार्यालय तथा शब्दपाटी अनलाइन टिभि स्टुडियो उद्घाटन गरेसँगै शब्दपाटीले ‘निरन्तर संवाद’ कार्यक्रम सुरु गरेको हो । कार्यालय उद्घाटन तथा स्टुडियो उद्घाटन समारोहका प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष पोखरेलले अनलाइन मिडियाप्रति आकर्षण बढिरहे पनि व्यवस्थापकीय चुनौती रहेको औल्याए । ठूला मिडियाले कोरोना कालमा सूचनाको पहुचलाई सहज नबनाएका बेला अनलाइन मिडियाले निर्वाध सूचना दिएर आफ्नो उपस्थिति राम्रो देखाएको स्मरण गर्दै अध्यक्ष पोखरेलले भने, ‘निर्वाध सूचना प्रवाह गर्ने अनलाइन मिडियालाई राज्यले मूल धारको मिडिया भनिरहेको छैन । हामी अनलाइन मिडियालाई राज्यको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने अभियानमा छै ।’ ‘पुराना कानुनको आडमा अनलाइन मिडिया चलिरहेका छन्, यो एक दमै गलत हो’ उनले भने, 'गलत भनेर बहिष्कार गर्ने अवस्थामा हामी छैनौ । राज्यलाई सच्याउन हामी बोली रहेका छौ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले शब्दपाटीलाई ललितपुरको छुट्टै मिडियाको पहिचान बनाउन सफल होस् भन्ने शुभकामना दिँदै शब्दपाटीले व्यवसायिक मर्यादालाई ख्याल गरोस भन्ने कामना गरे । समारोहमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कोषाध्यक्ष केशवप्रसाद बोहोराले निर्वाचनको मुखमा रहेकाले आचारसंहिता पालनामा ख्याल पुर्याउन सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले स्थानीय तहको निर्वाचनका बेला मिडियालाई प्रभावमा राख्न प्रयास हुने उल्लेख गर्दै शब्दपाटीले यी सबै चुनौती पार गरी पत्रकार आचारसंहिता पालना गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल टप दैनिकका प्रधानसम्पादक डिल्लीराम आचार्यले पछिल्लो समय अनलाइन मिडियाको बाढी आएको बताउँदै अनलाइन मिडियाले ठूला मिडियाले उठाउन नसकेका 'भूई मान्छे'का कथालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष तथा जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलले पछिल्लो समय पीत पत्रकारितालाई लिएर धेरै कुरा सुन्नु परे पनि शब्दपाटी यसबाट अलग रहने आशा व्यक्त गरे ।