राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्रीले चुनावको कुरा उठाए

माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता पौडलको असहमति
मंगलबार, चैत ३, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको चुनावमा जाने प्रस्तावलाई नेपाली काग्रेस तथा माओवादी केन्द्रले ठाडै अस्वीकार गर्दै  असहमति प्रकट गरेका छन् । प्रधानमन्त्रीको चुनावमा जानु पर्ने प्रस्तावलाई आफूहरूले प्रतिवाद गरेको माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले बताएका छन् । गत पुसमा प्रतिनिधिसभा विघटन भएपछि संसद् पुनस्र्थापनासहितका घटनाक्रम अघि बढिसक्दा मंगलवार पहिलो पटक राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गरेको थिइन् ।  प्रधानमन्त्री ओलीले पुनस्र्थापित संसद्ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको भन्दै त्यो अवस्थामा ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने धारणा बैठकमा राखेका थिए । उक्त बैठकमा राष्ट्रपति भण्डारीले अर्काे हप्ता हुने बंगलादेश भ्रमणसहितको विषयमा जानकारी गराएको नेताहरूले बताएका छन् ।
प्रचण्ड र रामचन्द्रको प्रतिवाद
शीतलनिवासमा आयोजित भेटघाटमा प्रधानमन्त्री ओलीले पुनस्र्थापित संसद्बाट पनि निकास निस्कने सम्भावना नरहेको भन्दै ताजा चुनावमा जानुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताले जानकारी दिए । तर उक्त प्रस्तावमा आफ्नो दलका अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका नेताले पनि असहमति जनाएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘प्रतिनिधिसभा पुनस्र्थापित भएपनि संसद् परिणाममुखी स्थिति छैन । सल्लाह गरेर चुनावमा जाऊँ भनेर प्रधानमन्त्रीले कुरा उठाउनुभयो । त्यसमा हामी दुइटा कोणबाट सहमति हुनसक्ने स्थिति थिएन । एउटा संवैधानिक र संसदीय प्रक्रियाबाट नै अघि बढ्नुपर्ने हन्छ । संसद् र संविधानबाट फैसला गर्ने हो । दोस्रो राष्ट्रपति कार्यालय यो विषयमा छलफल गर्ने उपयुक्त थलो पनि होइन’ माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भने । ताजा जनादेशमा जाने प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विमति जनाएका थिए ।
उनले भने, ‘अहिले पनि पाँच वर्ष सरकार चलाउने भनेर हामीले भनेकै थियो । ताजा जनादेशमा जाँदा अहिलेको जस्तै अवस्था दोहोरिँदैन भन्ने ग्यारेण्टी कसले गर्छ ।’

यसअघि मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापित संसद्ले प्रभावकारी भूमिका खेल्न सक्ने अवस्था नदेखिएको र प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश प्रस्तुत हुने व्यवस्था कार्यान्वयन नगरेर सभामुखले आफ्नो संवैधानिक दायित्व पूरा नगरेको आरोप लगाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन् ‘प्रधानमन्त्रीले कि त संसद् प्रभावकारी ढङ्गले चल्नुप¥यो नत्र ताजा जनादेशमा जानुपर्छ भनेर भन्नुभएको हो ।’ सर्वाेच्च अदालतको हालैको फैसलाले नेपाल कम्युनिस्ट पार्टी खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताँइदिएपछि प्रधानमन्त्री ओलीले आफ्नो दलभित्रको असन्तुष्ट माधवकुमार नेपाल खेमाबाट विरोधको सामना गरिरहेका छन् । विवादकै बीच सोमबार प्रधानमन्त्री ओली र माधवकुमार नेपाल पक्षबीच छलफल भएको थियो । शीतल निवासमा आयोजित बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्ने र चुनावमा जाने आफ्नो पहिलेको निर्णय सही रहेको दोहो¥याएका थिए ।
उनले भने, ‘संसद् चलाउने वातावरण बनाउनुप¥यो । प्रजातन्त्रमा जनादेशमा जाने कुरा पनि बेठिक होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो ।  प्रजातन्त्रमा जनादेशमा जाने कुरा बेठिक हो भनेर कसैले भनेको छैन । तर जाने प्रक्रिया पनि संविधानले जुन निर्धारण गरेको छ त्यसलाई उछिनेर जान पाइँदैन नि ।’ प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गराउने सरकारको निर्णय सर्वाेच्च अदालतले गत फागुन ११ गते खारेज गरिदिएको थियो ।  प्रतिनिधिसभाबाट नयाँ सरकार बन्न नसक्ने अवस्थामा संसद् विघटन गरी ६ महिनाभित्र अर्काे चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिले भनिन्, ‘चुनावलाई किन नकारात्मक रुपमा लिने ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री राखेको चुनावमा जाने प्रस्तावलाई घुमाउरो पारामा समर्थन गरेकी छन् । बंगलादेश भ्रमणका पूर्वसन्ध्यमा राष्ट्रपति भण्डारीले चियापानका लागि भन्दै प्रमुख दलका शीर्ष नेता र पूर्व प्रधानमन्त्रीलाई बोलाएको छलफलमा उनले प्रधानमन्त्री ओलीको चुनावको प्रस्तावलाई नकारात्मक रुपमा लिन नहुने बताइन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेतासँग उनले प्रश्न गरेकी थिइन् , ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो, चुनावलाई किन नकारात्मक रुपमा लिनुप¥यो ? 
 मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि उपस्थित भेटमा एमालेका नेता पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित थिए ।  आमन्त्रित नेताहरुलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ का कारण लामो समय भेट हुन नपाएको र आफू बंगलादेश भ्रमणमा पनि जान लागेकाले चियापान पनि गरौं भनेर बोलाएको जानकारी दिएकी थिइन् । प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बंगलादेश भ्रमणका लागि राष्ट्रपतिलाई शुभकामना दिएका थिए । छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुनिरहँदा ‘प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्छ कि पर्दैन ? अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन ? सबै मिलेर चुनाव गर्ने भनेको के हो ?’ भन्ने जस्ता जिज्ञासा आफ्नो मनमा आएको बताए ।  माओवादी केन्द्रका नेता श्रेष्ठले राष्ट्रिय संकटका बेला वा राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न राष्ट्रपतिले दलहरुलाई बोलाउन सक्ने, तर यो सर्वदलीय बैठक नभई चियापान मात्र भएको बताए ।  श्रेष्ठले संसद विघटन बदर गर्ने फैसला गर्दा सर्वाेच्च अदालतले सरकार बन्न नसकेमा मात्र संसद् विघटन हुनसक्छ भनेर प्रष्ट भनिसकेको अवस्थामा दलहरुले चाहँदैमा चुनावमा जान सकिन्छ ? भनेर प्रश्न गरेको एक नेताले बताए । कांग्रेस उपसभापति निधिले पनि संविधान र संसदीय प्रक्रियाअनुसार मात्र चुनावमा जान सकिने बताए भने चित्रबहादुर केसीले पनि प्रधानमन्त्रीमाथि प्रश्न गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो यस्तो छलफल गर्ने थलो हो र ? भनेर प्रश्न गरेका छन् । ‘म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर अप्रिय कुरा बोल्नुभयो’, उनले भने । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी सरकारको तीन वर्षको कामले जनतामा निराशा छाएकाले अहिलेको संकट आएको भन्दै प्रधानमन्त्रीले सबै पक्षसँग छलफल गरेर संसदबाट निकास खोज्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार