सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १७ वैशाख । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।देशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीतिक दल भएको हो ।निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
आयोगका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।
त्यस्तै, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा मेयरका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई मेयरको उम्मेदवारी दर्ता गराएको छ भने गाउँपालिका अध्यक्षका लागि १५ सहित ४२ महिलालाई स्थान दिएको छ । महिला उम्मेदवारी दर्ता गराउनेमा राप्रपा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।
उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १ सय २८ जना मेयरमा उम्ेमदवारी दिँदा २३ जना महिला उम्मेदवार उठाएको छ भने १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ । नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो । कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।