सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी भित्रको विवादले उग्ररुप लिने देखिएको छ । एमाले नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बदलिँदो परिस्थितिबारे छलफल गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने घोषणा गरेपछि आक्रोशित प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान कार्यकर्तालाई निर्देशन दिएका छन् । माधव–झलनाथ समूहले बुधबारदेखि राजधानीमा कार्यकर्ता भेला गर्दैछन् । यो समूहको भेलाप्रति लक्षित गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने, ‘केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको छु । एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराउँछु ।’ मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि आयोजित चियापान समारोहमा ओलीले भने, ‘केही मानिसहरू निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’ ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’, उनले भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’ पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए । प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई विधान, कानून बमोजिम कारबाही गर्ने चेतावनी दिए । उनले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने स्पष्ट पारे । ओलीले भने, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसद्को नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता–कार्यकर्तालाई सचेत गराउँछु ।’ एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए । ओलील भने, ‘उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।’