स्वतन्त्र/बागी उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन ललितपुर कांग्रेसको निर्देशन

बुधबार, वैशाख १४, २०७९

ललितपुर, १३ वैशाख ।  कांग्रेस ललितपुरले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र/बागी उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि कांग्रेसका नेता–कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारलाई नाम फिर्ता लिन वैशाख १६ गतेको समय छुट्ट्याइएको छ । वैशाख १७ गते मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशत गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।  
जिल्ला सचिव वशिष्ठ अधिकारीले सभापति श्रेष्ठले दिएको निर्देशन उध्दृत गर्दै जारी गरेको विज्ञप्तिमा ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकटसमेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो ।’ 
विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार कांग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो ।’
कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने पनि स्पष्ट पारेका छन् । विज्ञप्ति निकालेर उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

विज्ञप्ति : 

२०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा पाँच दलीय सत्ता गठबन्धनको ललितपुर जिल्ला स्तरीय संयन्त्रको मिति २०७९-०१-०३ गतेको बैठकको निर्णय अनुसार ललितपुरका सम्पुर्ण पालिकाहरूको हकमा केन्द्रीय संयन्त्र र बागमती प्रदेश संयन्त्रको निर्णय तथा परिपत्र बमोजिम तत् तत् तहले तोके बमोजिम गठबन्धनमा जाने निर्णय भएको थियो । 

 

वडाहरूको बाँडफाँटका सम्बन्धमा मिति २०७९ बैशाख ६, ७, ९ र १० गते बसेको जिल्ला संयन्त्रको बैठकबाट मोटामोटी प्रारुप तयार भएको तर प्रदेश संयन्त्रको निर्णय नआइसकेको कारण सहमतिमा पुग्न बाँकी थियो । वैशाख ११ गते मध्याह्न पश्चात बाग्मती प्रदेश संयन्त्रबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकट समेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो । 

बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार नेपाली काँग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो । यसैबीच उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा बाग्मती प्रदेश संयन्त्रको निर्णयभन्दा फरक हुने गरि पालिकाहरूमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को जिल्ला नेतृत्वसँग समन्वय नगरी पालिका प्रमुख तथा उप–प्रमुखका पदहरूमा मनोनयन दर्ता गरेका कारण स्थिति अन्योलता तर्फ गएको व्यहोरा स्पष्ट गर्न चाहन्छ । 

 

माथिल्लो संयन्त्रको गतिविधि र उपरोक्त परिस्थितिका कारण मनोनयनको अन्तिम अवस्थामा पाँच दलीय संयन्त्रको पूर्व निर्णय समेतलाई आधार मानी नेपाली कांग्रेस ललितपुर जिल्लाले धेरै वडाहरूमा गठबन्धन अनुरुप संयूक्त रुपमा तथा केही वडाहरूमा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णयमा पुगी मनोनयन दर्ता गराएकोले मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरणमा निर्वाचनमा जानुबाहेक कुनै विकल्प नरहेको हुँदा गठबन्धनका दलहरूसँग मित्रवत् ढङ्गले तथा विपक्षीहरूलाई पराजित गर्ने रणनीति अनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न सम्पुर्ण मातहत एकाईहरूलाई निर्देश गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै विभिन्न कारणबाट पार्टीको उम्मेदवार विरुद्ध स्वतन्त्र/बागी उम्मेदवारी दिनुभएका साथीहरूलाई समयमै उम्मेदवारी फिर्ता गर्नुहुन निर्देशन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ। 

जितेन्द्र कुमार श्रेष्ठ 

सभापति नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुर

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार