माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

सोमबार, चैत २, २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि सुरु भएको बैठक सोमबार केही बेर बसेर स्थगित भएको हो ।  ‘आज २० केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभयो । अरु ८० जनाले बोल्न नाम टिपाउनु भएको छ । उहाँहरु सबैले बोल्दा बैठक लम्बिने भयो । भोली संसद् बैठक पनि भएको हुँदा संसदीय दलसँग सम्बन्धित काम गर्नुपर्ने, आज अरु राजनीतिक दलसँग वार्ता पनि भएको हुँदा बैठक स्थगित भयो’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकको अर्काे मिति तय भएको छैन । ‘लामो समय बैठक नबसौं । यो परिस्थिति कस्तो बन्छ त्यो हेरेर बैठक बसौंला भनेर अध्यक्षले प्रस्ताव गर्नुभयो । राजनीतिक परिस्थिति अर्कै भएपछि कार्यकर्ता भेला गरिन्छ । कार्यकर्ता भेलाअघि केन्द्रीय कमिटी बैठक बसौंला भन्नुभयो । त्यसपछि अहिलेका सबै एजेन्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिनेगरी बैठक स्थगित भयो । बैठकको अर्काे मिति तय भएको छैन’, उनले भने । नयाँ सरकार निर्माणबारे अरु दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वाेचले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको श्रेष्ठले बताए ।


पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा जोड
माओवादी केन्द्रका नेताहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन् ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अहिलेको राजनीतिक अवस्था, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा जोड दिएका थिए ।  ‘केन्द्रीय सदस्यहरुले वैचारिक राजनीतिक कार्यदिशालाई अझ स्पष्ट बनाएर पार्टीलाई विधि, पद्धति र सामूहिक ढङ्गले सञ्चालन गर्नुपर्ने र कमीकमजोरीलाई समीक्षा गर्दै आफूलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुुभयो’, केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै उनले जानकारी दिए । बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, फम्फा भूसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजीत श्रीपाइली, जयपुरी घर्ती, परशुराम रम्तेल, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुुराम तामाङ, डिलाराम आचार्य, ओम शर्मा, कुमार पौडेल र रामचन्द्र झाले विचार व्यक्त गर्नुुभएको थियो । उहाँहरुले आ–आफ्नो धारणा राखेका थिए । ‘तत्कालीन राजनीति परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्न सबै राजनीतिक दलसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौं’, उनले भने । बैठकले केन्द्रीय नेताहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिएर निर्धारित जिम्मेवारी सम्पन्न गर्न जाने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार