सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका दुई समूहको बैठक बिनानिष्कर्ष टुङ्गिको छ । पार्टी मुख्यालय धुम्बाराहीमा भएको सोमबारको बैठकमा दुवै पक्षले अ–आफ्ना भनाइहरु राखेका थिए । माधवकुमार नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष भीम रावलका अनुसार गत शुक्रवार प्रधानमन्त्री ओली पक्षधर नेताहरूको बैठकले गरेको निर्णय खारेज गर्न गरिएको मागबारे प्रधानमन्त्री ओलीले कुनै प्रतिबद्धता जनाएका छैनन् । ‘करिब दुई घण्टा छलफल भयो । तर हाम्रो कुरा मिलेन’ उनले भने । नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्काे बैठकको मिति निश्चित गरिएको छैन । सर्वाेच्च अदालतले फैसलाले अघिल्लो साता एमालेलाई ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसहित दुई पक्षका नेताहरूको बैठक पहिलो पटक बसेको हो । आजको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए । धुम्बाराहीमा भएको भेटघाटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता रघुजी पन्तले ‘एकअर्काका कुरा सुन्ने, बुझ्ने काम’ भएको बताए । उनले भने, ‘हामीले आफ्ना अडान राख्यौँ ।’
आफूहरूले २८ गतेको निर्णय नमान्ने अडान राखेको उनले बताए । नेता रावलले २८ गते ओली पक्षले गरेको केन्द्रीय सदस्य थप र पदाधिकारी खारेजीसहितका निर्णय नउल्टाइएसम्म आफ्नो पक्षका गतिविधि जारी रहने बताए । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरूको बैठकले एमालेका अध्यक्ष र महासचिव पदलाई यथावत् राख्दै अन्य पदाधिकारी खारेज गरिएको विवरण आएको थियो । नेपाल–खनाल पक्षका कतिपय नेताहरूको जिम्मेवारी खोस्दै ओलीले सातवटै प्रदेशको इन्चार्ज आफूलाई समर्थन गर्ने नेतालाई तोकेका छन् । उक्त बैठकले नेकपा मओवादी केन्द्रबाट आएका २३ जना नेताहरूलाई केन्द्रीय समितिमा जिम्मेवारी दिने निर्णय गरेपछि नेपाल पक्षले आक्रोश व्यक्त गरेको थियो । देशभरि समानान्तर सङ्गठन स्थापना गर्ने चेतावनी दिएको नेपाल पक्षले पूर्ववत अवस्थामा समितिहरू कायम नभए चैत ७ का लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा भाग नलिने बताइरहेको छ । ओली पक्षका नेताहरूले केही प्रतिक्रिया दिइसकेका छैनन् ।