सोसल मिडिया
Contact Us
युनिकोड
सुदूरपश्चिम, ११ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज कैलालीमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले मध्याह्नसम्म जिल्लाका १३ वटै पालिकामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिए । विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने जनाएका छन् । दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जनाइएको छ । धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहेका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताए । उपमहानगरपालिकाका सबै पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीले लगभग टुङ्गो लगाइसकेको चन्दले बताए। नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताए। उनले भने, ‘‘छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको छ ।’’–रासस