भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको दर बढ्दो 

फेरि थपिए २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त
आइतबार, चैत १, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भेटिएका छन् । यसअघि एक दिनमा सङ्क्रमितहरुको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्यांक सार्वजनिक गरेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।  कुल सङ्क्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार