अफगानिस्तानको हेरातमा कारबम बिस्फोटमा परी आठ जनाको  ज्यान गयो 

शनिबार, फागुन २९, २०७७

हेरात । पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ ।हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् ।  मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताउनुभयो । उहाँले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । तालिबानका लडाकूहरु यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरुमा उनीहरुले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् । राष्ट्रपति अश्रफ घानीले हेरात बिस्फोटका लागि तालिबान दोषी रहेको बताएका छन् । राष्ट्रपति घानीले एक वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरुले वर्तमान सङ्कटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गरेका छन् ।  हालैका महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि तालिबान समूहले पत्रकार, अधिकारवादीहरु र सरकारी कर्मचारी, वकील लगायतलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । गत शुक्रबार, राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा नागरिक–लक्षित आक्रमणलाई लिएर कडा शब्दमा निन्दा एवं भत्र्सना गरेको थियो ।  अमेरिकी राष्ट्रपति जो बाइडनले तालिबान र अमेरिकाबीच भएको सम्झौताको समीक्षा गरिरहेको बताउँदै आउनु भएको छ ।–एएफपी
 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार