जसपाले नेपालगन्ज पनि खाेजेपछि बल्झियाे विवाद, गठबन्धनको बैठक बस्दै

बुधबार, वैशाख ७, २०७९

काठमाडाैं, ७ वैशाख । आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।   गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ । मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेकाे हाे । 

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेकाे छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरकाे सिट दिने विषयमा छलफल भएकाे थियाे । तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबा ठाेकेकाे हाे ।  ११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खाेजेकाे हाे ।  ६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेकाे बताइएकाे छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार