माओवादी केन्द्रले सरकारमा पठाएका मन्त्रीहरूलाई फिर्ता बोलायो

शनिबार, फागुन २९, २०७७

काठमाडौं । नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी आफ्ना नेताहरूलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो । ‘सरकारमा मन्त्री हुन गएका साथीहरू र सांसदहरूलाई तुरुन्त पार्टीमा फर्कन भनिएको छ’ माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले भनिन् ।  आफ्ना मन्त्रीहरूलाई फर्कन भनेको भए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता गरि नसकिएको भुसालले जानकारी दिइन् । ‘हामी विकास भइरहेका पछिल्ला केही राजनीतिक घटनाक्रमका आधारमा त्यसबारे निर्णय लिनेछौैं’, उनले भनिन्  गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुद मन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । तीमध्ये केहीले सार्वजनिक रूपमै आफूहरू माओवादी केन्द्रमा नफर्कने बताउँदै आएका छन् । शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी केन्द्रका २३ नेतालाई आफ्नो पार्टीको केन्द्रीय सदस्य मनोनित गरेका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सर्वाेच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र कायम भएको भए पनि केही माओवादी केन्द्रका नेताहरू ओली समूहमा लागेका छन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार