सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं, ६ वैशाख । स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेकाे छैन । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ । विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारकाे बैठक अनिर्णित बनेकाे थियाे । कांग्रेसले काठमाडाैं, ललितपुर र विराटनगरसहित पाेखरामा पनि दाबी गरेकाे छ । तर, एकीकृत समाजवादीले पाेखरामा दाबी गरिरहेकाे छ । पाेखरामा तत्कालीन एमालेले जितेकाे थियाे ।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पाेखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् । माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेकाे छ । सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।  आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार