सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराएका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी गराए । आफ्नो पार्टीका साथीहरु जेलमा रहेको र उनीहरु छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्नेलगायत विषयमा कुरा राखेको उहाँले बताए । बैठकमा कांग्रेस नेतृत्वले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा वर्तमान राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने र त्यसका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा एक ठाउँमा उभिने परिस्थिति निर्माण हुनुपर्ने धारणा आएको जानकारी दिए । बैठकमा अहिलेको सन्दर्भमा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत प्रकट भए पनि ठोस रुपमा कुनै निर्णयमा पुगिनसकेको बताउँदै प्रवक्ता शर्माले प्रतिनिधिसभा पुनः स्थापनापछिको राष्ट्रिय राजनीतिलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने विषयमा छलफल भएको बताए । जसपा नेतृत्वसँगको भेटवार्ता अघि आजै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेको थियो । सभापति देउवा निवासमै भएको बैठकमा खुला रुपमा संवाद गरी निष्कर्षमा पुगेर राष्ट्रिय राजनीतिलाई कांग्रेसको अग्रसरतामा लिएर जानुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । गत पुस ५ गते प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वाेच्चले यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि दलहरुबीच राष्ट्रिय राजनीतिक विषयमा द्विपक्षीय एवं बहुपक्षीय रुपमा छलफल हुन थालेको छ ।
विधान टुङग्याएन जसपाले पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक अनिर्णित भएको छ । सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन । विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ । बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उनको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उनकै निवास बुढानिलकण्ठ गएका थिए । अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास जानुभएको नेता झाले बताए । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । जसपाले बन्दी नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ ।–रासस