मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

बुधबार, चैत ३०, २०७८

मोरङ, ३० चैत  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका  छन्  ।   एमाले विराटनगर महानगरद्वारा आज  आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए  । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका  अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे  ।    उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताए  । 
    
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गरे  । उनले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे  । 

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक रु १०० देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराए  । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरे  ।


 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार