नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

बुधबार, चैत ३०, २०७८

जाजरकोट, ३० चैत   । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताए  ।

   नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाए  । “एनसेल महङ्गो छ, तर राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भने  । उनी जस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ । फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी पनि गराएको छ तर, टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझै भएको छ ।

   फोर जी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ । बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिए  । यो समस्या भएको दुई महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए । 

   सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उता रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्या आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

   पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छाडेको सर्वसाधारण बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर रहे पनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिक पीडा सुनाउँछन् । वर्षामा आकाशमा बादल देखिनेबित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्याले गर्दा आफूहरु हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताए  । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार