सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुबै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो । ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ट कुटनीतिक पदाधिकारी स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट गर्ने तय भएको छ । कङ्ग्रेसको बैठकमा बुधबार पहिलो पटक उपस्थित विदेश मन्त्री ब्लिन्केनले सांसदलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानवअधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताएका थिए । उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुनसक्ने बताइएको छ । सांसदले सोधेका प्रश्नको जवाफ दिँदै विदेश मन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए । उनले यी जल्दाबल्दा अन्तरराष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए । अलास्कामा चिनियाँ अधिकारीसँगको भेटवार्ता अघि विदेश मन्त्री ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् । यी भेटवार्तामा अमेरिका र जापान–दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ । राष्ट्रपति जो बाइडनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीसँग हिन्द–प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन् । कङ्ग्रेसको विदेश मामिला समितिमा विदेशमन्त्री ब्लिन्केनले भने, ‘कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रुपमा उनीहरु समक्ष राख्नेछौं ।’ ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीसँग हाम्रा गहिरो असहमतिसमेत विविध विषयमा छलफल हुने बताइसकेका छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति छँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजूक स्थितिमा पुगेको थियो । ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाही गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो । जो बाइडनले ह्वाइट हाउसको प्रशासन सम्हालेयता पनि चीनमाथिका कारबाही फुकुवा भइसकेका छैनन् । अर्थात् ट्रम्पका अधिकांश नीतिलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने सङ्केत देखिएको छ ।–एपी