सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २६ चैत । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे। उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पुर्याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।” उनले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पारे । कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्छ भने । उनले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल गरे । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रको विकाससँगै विकसित मुलुकको रूपमा देशलाई अगाडि बढाउनका निम्ति पनि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्नेमा जोड दिए। नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेसको प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ । उपसमितिमा विभिन्न देशमा रहेका कांग्रेसका नेपाली जनसम्पर्क समितिका सभापति तथा सदस्य गरी ८४ सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए । यसैगरी उक्त उपसमितिअन्तर्गत गौतम दाहालको संयोजकत्वमा १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जालसमेत गठन गरिएको उनले बताए ।