यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

शनिबार, चैत २६, २०७८
Global Ime Bank

साना, २६ चैत । संयुक्त राष्ट्रसङ्घले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन् । यसअघि पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका थिए । 
यमनमा मारिबमा पछिल्लो समयमा हिंसा सुरु भएको छ । त्यसैले उक्त क्षेत्रमा हिंसा मच्चाइरहेका समूहलाई द्वन्द्व त्यागेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न विशेष दूत ह्यान्सले अपिल गरेका हुन् ।    
यमनमा दक्षिण मारिब प्रान्तको एक जिल्लामा बिहीबार र शुक्रबार भीषण द्वन्द्व भएको थियो । त्यसमा परेर कैयौँ मानिसको ज्यान गएको थियो ।
सो हिंसालाई त्याग्न र युद्ध विराम गरेर शान्तिपूर्ण माध्यमबाट हरेक समस्याको समाधान खोज्न पनि यस अवसरमा आग्रह गरिएको थियो ।
यसअघि पनि महासचिव गुटर्रेसले केही महिनाअघि मात्र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै यमनको आर्थिक अवस्था नाजुक हुँदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका थिए । संयुक्त राष्ट्रसङ्घले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा काम गर्नुपर्ने बताएको थियो ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार