पुनर्स्थापित संसद्ले विजनेश पाएन 

सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो आजको बैठक
बुधबार, फागुन २६, २०७७

काठमाडौँ । सरकारले संसद्लाई विजनेश दिने सामान्य नियम हो । तर यस पटकको संसद् त्यो रुपमा अघि बढेको देखिदैन । सरकारले संसद्लाई सहज ढङ्गले चलाउने प्रयाय गरेको देखिदैन । प्रनिनिधिसभाका सभामुख तथा सरकार निकट रहेर संसद्लाई विजनेश दिनुपर्नेमा यी दुई निकायको तिक्तता संसद्मा परेको देखिएको छ । प्रधानमन्त्रीले संसद् सञ्चालनका लागि सरकारसँग छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिसकेका छन् । विजनेश नपाउँदा संसद् प्रभावकारी बन्न सक्दैन । बुधबारको बैठक पनि यस्तै भयो । बैठकको कार्यसूचीमा अध्यादेशहरू परेका थिएनन् । आजको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू अलगअलग लहरमा बसेका थिए । सातौँ अधिवेशनको पहिलो बैठकमा सरकारले अध्यादेशहरू प्रस्तुत गर्ने तयारी गरेको थियो ।
तर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेशको विरोध गर्दै नेपाली कांग्रेसले आइतवार सदन अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेर बुधबारको बैठक सकिएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकोमा सर्वसम्मतिले पारित भएको हो । दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।   बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी आजका लागि बोलाइएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते अपराह्न १ बजे बस्ने भएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार