सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग संयुक्त वार्ता गर्न लागेका छन् । बाइडनको यो पहिलो प्रयास हो । अमेरिकासहितको यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई अमेरिकी राष्ट्रपति बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पत्रकारसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लागेको बताए । चीनसँगको बढ्दो तनाबकै बीच ‘क्वीड’ का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोजेको विश्वास व्यक्त गरे । ‘यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो । यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ’ अस्ट्रेलियाली प्रधानमन्त्री मरिसनले संवाददातसँग भने । प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गरेका छन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेताले क्षेत्रीय र विश्व मामिलाका केही प्रमुख विषयमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।’ जापानी प्रधानमन्त्री योशिहिदे सुगासमेत सहभागी हुने यो बैठकमा सामुद्रिक सुरक्षा प्रवद्र्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड–१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ । जापानी प्रधानमन्त्री सुगाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलग्गै टेलिफोन सम्वाद गरेका थिए । उनीहरुबीच पूर्वी तथा दक्षिण चीन सागरका सम्बन्धमा यसअघिका समझदारीलाई चीनले उल्ट्याउन खोजेको विषयमा कुराकानी भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले संवाददातासँग कुरा गर्दै विश्वका जल्दाबल्दा समस्या सुल्झाउन क्वीड गठबन्धन सक्षम रहेको बताएका छन् । गत फेब्रुअरी १८ मा क्वीड गठबन्धन मुलुकका विदेश मन्त्रीको बैठकले म्यान्मारमा सेनाले सत्ता लिएकामा आपत्ति जनाएको थियो । बैठकमा अमेरिकी अधिकारीले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो । क्वीडका विदेश मन्त्रीहरुले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो ।–एएफपी