ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचार मुद्दामासफाइ

बुधबार, फागुन २६, २०७७

रियो दि जेनेरियो । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।  ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ ।  उनले अदालतबाट सफाइ पाएपछि आगामी निर्वाचनमा वर्तमान राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पानेछन् । वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशको फैसलाले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष पनि रद्द गरिदिएका छन् ।  पूर्वराष्ट्रपति लुलालाई ‘अपरेशन कार वाश’ नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका हुन् ।  उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन् ।  सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो । फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले आफू सधैँ सही रहेको प्रमाण अदालतले दिएको फैसला भएको दाबी गरे । ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले ब्राजिलियालीहरूले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।–सिन्ह्वा 
 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार