खार्किभमा रुसी सेनाको हमलामा ७ जनाको मृत्यु, ३४ घाइते

सोमबार, चैत २१, २०७८
Global Ime Bank

किभ, २१ चैत : आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । 

‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ ।
रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ ।

रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए पनि गोलाबारी रोकिएको छैन् । राजधानी किभ र बुचा सहरबाट भने रुसी सेना पछि हटेको बताइएको छ ।

रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या 

युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ  स्थानीयमध्ये उनी एक हुन ।

रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए । 

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । 

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

सर्वसाधारणको गैरन्यायिक हत्यामा कसको संलग्नता थियो भन्नेबारेमा स्वतन्त्र ढंगले पुष्टि हुन सकेको छैन् । दुबै देशले एक अर्कामाथि आरोप लगाएका छन् । -एजेन्सी

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार