कांग्रेस  प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन गर्ने

शुक्रबार, चैत १८, २०७८

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् ।  पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् । 

प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए । 
उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पाँच दलीय संयन्त्र बनाइनेछ । 

सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि २१ चैतपछि प्रदेश समिति बैठक बस्ने बताए  । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठनसँगै पाँच दलीय संयन्त्र गठनबारे पनि छलफल गर्नेछ । 

लुम्बिनी प्रदेशमा भने समिति गठनमा ढिलाइ हुने सभापति अमर पुनले बताए । मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि छिट्टै समिति गठन गर्ने भएका छन् । 

समितिले कांग्रेस सम्मिलित पाँच दलीय गठबन्धनलाई विजयी बनाउन निर्वाचनसम्बन्धी गतिविधि गर्नेछ । 

कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल नगर्नेगरी निर्णय गरेको भोलिपल्ट कांग्रेसका लुम्बिनी सभापतिले गठबन्धनको निर्णयप्रति फेरि गम्भीर प्रश्न उठाएका छन् ।
प्रदेश सभापति अमर पुनले व्यवहारिकता, आवश्यकता र वस्तुस्थितिको राम्रो विश्लेषण नगरिए विद्रोह पनि हुने चेतावनी दिए ।  पुनले भनेका छन्, ‘पाँच हजार मत भएको कांग्रेसले टिकट नपाउने र एक हजार मत हुने अन्य पार्टीले पाए के हुन्छ ? विद्रोह हुँदैन ? मैले नगरे पनि स्थानीय तहका साथीहरूले गर्दैनन् भन्न सकिन्छ ?’
कांग्रेस नेतृत्वको गठबन्धनले मुख्य प्रतिस्पर्धा गर्ने दल भनेको नेकपा एमाले हो ।  गठबन्धनका अन्य दल सशंकित हुनेगरी सभापति पुनले एमालेले कांग्रेसलाई भोट दिने भन्यो भने नदिनु नभनिने बताए । ‘भोलि गठबन्धनको केन्द्रले स्थानीय तहको आवश्यकता बुझेन र एमालेले सघाउने भन्दै मत दिने भन्यो भने त नदिनु भन्न सकिन्छ ? त्यस्तो सकिँदैन’, न्युज कारखानासँग पुनले भने । 
तर, गठबन्धनको केन्द्रले गरेको निर्णयलाई स्वीकारिने बताए । उनले आवश्यकता र औचित्यको आधारमा तालमेलको निर्णय गर्नेगरी टुंगोमा पुग्न गठबन्धनको केन्द्रीय नेताहरूलाई आग्रह पनि गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार