सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, १६ चैत : रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।
रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाई आएको हो ।
‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने ।
प्रमुख रुसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’ युक्रेनी पक्षले ‘अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायी रूपमा तटस्थ राज्य’ बन्न तयार रहेको लिखित प्रस्ताव पेस गरेको उनले बताए ।
रुसी वार्ताकारले युक्रेनका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेकोसमेत बताएका छन् ।
३९ लाखले देश छाडे
युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन् ।
यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।
‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने ।
‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ ’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष फ्रान्सेस्को रोक्काले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’
युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।