सर्वाेच्चको फैसलापछि राजनीतिको केन्द्रमा कांग्रेस

कसको नेतृत्वमा सरकार बन्ने हो झन् झन् अन्यौल 
सोमबार, फागुन २४, २०७७

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएसँगै नेपाली राजनीतिको केन्द्रबिन्दुमा देखा परेको नेपाली कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अवलम्बन गरे जस्तो देखिएको थियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र दाहाल–माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले कांग्रेसको समर्थन प्राप्त गर्न खोजेको भए पनि नेकपाको विवाद वैधानिक रूपमा नटुङ्गिएको बताउँदै उसले आफ्ना मत प्रष्ट रूपमा सार्वजनिक गरेको थिएन । आइतवार सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि देशको राजनीतिक परिदृश्यले अझ पृथक रूप लिने देखिएको छ ।

सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई दुई फरक दलको हैसियतमा स्थापित गरिदिएको राजनीति विश्लेषकहरूले बताइरहेका छन् । अदालतको निर्णयका कारण उत्पन्न परिस्थितिमा नेपाली कांग्रेसले अब आफूलाई कसरी अगाडि बढाउन यो हेर्न बाँकी छ ।  कांग्रेस नेता डा.प्रकाशशरण महत संसद्मा नेपाली कांग्रेसले प्रभावकारी भूमिका खेल्ने गरी अघि बढ्ने बताउँछन् । ‘हिजो नै संवैधानिक परिषद्का नाममा विभिन्न आयोगहरूमा नियुक्तिका विषयलाई हामीले गम्भीरताका साथ उठायौँ । सत्ता समीकरणको विषयमा जसरी दुई खेमामा नेकपा कानुनी रूपमा समेत पुगेको छ, त्यसमा उहाँहरू को कहाँ उभिनु हुन्छ भन्ने हेरेर सरकार निर्माणमा हाम्रो भूमिका रहन्छ–रहन्न भनेर धारणा सार्वजनिक गर्छाैं’, उनले भने । तर सरकार निर्माणका विषयमा कांग्रेसले अन्य दललाई सहयोग गर्नेगरी प्रस्तुत भने नहुने विषय स्पष्ट रहेको पार्टी सभापति शेरबहादुर देउवासँग निकट मानिने नेता महत बताउँछन् । ‘सघाउनेमा नेपाली कांग्रेस जाँदैन । तीन वर्षको कुशासन, बेथिति, भ्रष्टाचार देखियो र लोकतान्त्रिक संस्थाहरूलाई एकपछि अर्काे गरी कमजोर पार्ने कार्य उहाँहरूले (नेकपा) सामूहिक रूपमा गर्नुभयो । त्यसको स्वामित्व कांग्रेसले लिन सक्दैन’ उनले भने । ‘त्यसो हुँदा कांग्रेसको नेतृत्व आउने अवस्थाबाहेकको अवस्थामा मलाई लाग्छ नेपाली कांग्रेस जाँदैन ।’

‘फरक मोड’ मा राष्ट्रिय राजनीति
सर्वाेच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई नै फरक मोडमा लगिदिएको नेता रमेश लेखक बताउँछन् । पछिल्लो फैसलाले नेकपाका दुवै पक्षलाई २०७५ जेठ २ को अवस्थामा लगेको र यसको चौतर्फी प्रभाव मुलुकको राजनीतिमा पर्ने उनको भनाइ छ । नेकपा एमाले र माओवादी केन्द्र फरक दल भएका अवस्थामा ‘त्रिशङ्कु संसद् भएको’ र बहुमतको सरकार नरहेकाले नयाँ प्रक्रिया सुरु हुने उनी बताउँछन् । पुनस्र्थापित प्रतिनिधिसभाको सातौँ अधिवेशनको बैठकमा आइतबार सरकारले पेस गरेको संवैधानिक अध्यादेशको विरोधमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेको थिए ।
‘तत्काल प्रभाव सरकारमाथि परेको छ । नयाँ सिराबाट सरकार निर्माणको प्रक्रिया अघि बढेपछि कांग्रेसले पनि निर्णय गरेर अघि बढ्नुपर्छ’ लेखकले भने । प्रतिनिधिसभाले धेरै दिन काम गर्न सक्ने आफूलाई नलागेको लेखक बताउँछन् ।
‘बरु अब ‘अर्ली इलेक्शन’ तिर जाने हो कि के हो ? यसतर्फ छलफल गर्नुपर्छ’ उनले भने । सडकको द्वन्द्व प्रतिनिधिसभा प्रवेश गरेको अवस्थामा गणितीय हिसाबमा अघि बढ्न सकिने विभिन्न सम्भावना रहे पनि पछिल्लो अवस्थाका कारण त्रिशङ्कु संसद्ले धेरै राम्रोसँग काम गर्न सक्छ भन्ने आफ्नो विश्वास नरहेको उनी बताउँछन् । ‘संसद्मा ६४ प्रतिशत मत भएको दलले पनि सरकार र संसद् ठिक ढङ्गले सञ्चालन गर्न सकेन । यस्तो अवस्थामा त्रिशङ्कु संसद् र कम्युनिस्टहरूबीच उग्र द्वन्द्वले मुलुकलाई स्थिरता दिन सक्ला भन्ने मलाई लाग्दैन’ उनले भने ।
के केपी शर्मा ओलीसँग सहकार्य सम्भव छ ?


नयाँ सरकार गठन गर्ने प्रक्रियामा आफूहरूको आवश्यकता नै नपर्न सक्ने भएकाले अहिले नै अघि बढ्ने कांग्रेसको संस्थापन पक्षको मनशाय देखिँदैन । सरकार गठन गर्ने विषयमा कांग्रेसको ‘धेरै रुचि नरहे पनि’ सदनभित्रको राजनीतिक परिस्थितिका कारण प्रतिपक्षीले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए त्यसलाई अस्वीकार गर्नुपर्छ भन्ने आफूलाई नलागेको लेखक बताउँछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने ओलीले नेतृत्व गरेको सरकारको निर्णयलाई ‘संवैधानिक व्यवस्थाप्रतिकूलको दुराशयपूर्ण निन्दनीय कार्य’ भनेको थियो । पूर्ववत एमाले कायम रहेको अवस्थामा उसले साना दलहरूसँग मिलेर सरकार गठनको प्रक्रियामा अघि बढ्न सक्ने सम्भावना रहन्छ । ‘तर परिआएको अवस्थामा कुन पक्षसँग मिलन हुन सक्छ भन्ने कुरामा तीन वर्षको उहाँहरूको साझा शासन रहेको अवस्थामा ओली प्रधानमन्त्री रहेकाले भूमिका बढी देखिने भए पनि अरूको पनि भूमिका कम छैन । त्यस कारण यो राम्रो, यो खराब भन्ने छैन । मूल कुरा कांग्रेस नेतृत्व स्वीकार गर्ने कुरा हो । त्यस्तो अवस्थामा भेदभाव गर्ने कुरा छैन’, महतले भने । नेता लेखकको पनि सबै दलसँग आफ्ना फरकफरक किसिमका विमति रहेका कारण अहिले नै कुनै पक्षसँग मिलेर जान सक्ने भन्ने अवस्था नरहेको भनाइ छ । ‘सबै बाटा खुला छन’, उनले भने ।

‘व्यवस्था बचाउन जरुरी’


नेपाली कांग्रेसमा सभापति देउवासँग असहमत समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो घटनाक्रमका कारण व्यवस्थामाथि नै संकटको बादल मडारिएको आफ्नो बुझाइ रहेको बताउँछन् । यस्तो अवस्थामा देशलाई निकास नेपाली कांग्रेसले नै दिनुपर्ने र प्रणालीको रक्षा गर्ने जिम्मा पनि कांग्रेसकै रहेको उनको मान्यता छ । ‘बल्लबल्ल यो व्यवस्थालाई विघटनबाट बचाइएको थियो । फेरि अर्काे फैसलाले संसदीय प्रणालीमा अराजक स्थिति जन्माएको छ । त्यसमा पार्टी बैठक बसेर छलफल गरेर बाटो दिनेछौँ’ उनले भने । त्यसोभए कांग्रेसले निकास आफ्नो नेतृत्वको सरकारमा कि अरूलाई सहयोग गरेर दिन सक्छ त ?‘जस्तो गर्दा हुन्छ । व्यवस्थाको रक्षा प्राथमिकतामा राखेर आफैँ नेतृत्व राखेर वा अरूलाई दिएर के गर्दा उचित हुन्छ भन्ने विषयमा गहिराइमा सोचेर कांग्रेसले निर्णय गर्नुपर्ने हुन्छ’ उनले भने ।

‘नैतिक प्रश्न पनि अब रहेन’
अदालतले नेकपा एकीकरण नै नियम मिचेर गरिएको भनेको अवस्थामा तत्कालीन एमाले र कांग्रेसले प्राप्त गरेको जनमतमा केही हजारको मात्रै फरक रहेको महत बताउँछन् । त्यस्तै विगतका निर्वाचनका तुलनामा पछिल्लो निर्वाचनमा आफूहरूको मत प्रतिशत बढेको उनको भनाइ छ । ‘हाम्रो मत घटेकोभन्दा पनि उहाँहरू गठबन्धन गरेकाले निर्वाचन जित्नुभएको हो । दुई दल जोडिँदा संसद्मा उपस्थिति कम देखियो तर मत कम भएको छैन’ उनले भने । फेरिएको राजनीतिक परिदृश्यकाबीच नेपाली कांग्रेस माथि सरकारको नेतृत्वको विषयलाई लिएर उठाइने नैतिक प्रश्नको समेत औचित्य समाप्त भएको उनी बताउँछन् ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार