सोसल मिडिया
Contact Us
युनिकोड
किभ, १४ चैत : युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह सहर मारिओपलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ । रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बीरहरुमा देखिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् । अहिले रुसमा रहेका मारिओपोलका एक शरणार्थीले भने, ‘हामी सबैलाई बलजफल नियन्त्रणमा लिइयो ।’ केही युक्रेनी अधिकारीहरूले रुसका कार्यहरूलाई चेचेनहरुलाई ‘फिल्ट्रेशन क्याम्प’मा ‘निर्वासन’ गरिएको घटनासँग तुलना गरेका छन् । चेचेन्यामा रुसी युद्धमा हजारौँ चेचनलाई अस्थायी शिविरमा लगेर सोधपुछ गरिएको र उनीहरुमध्ये धेरै वेपत्ता भएका थिए ।
सर्वसाधारणहरुलाई आफ्नो क्षेत्रमा निर्वासन गर्नु यो युद्धरत पक्षका लागि मानवअधिकार दुरुपयोग हो । रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ ।
तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय बेसमेन्ट र बंकरमा लुकेका छन् । पिउने पानी, खाना र औषधिको चरम अभाव छ । मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ ।
तुलनात्मक रूपमा मारिउपोलका थोरै नागरिकहरू दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।
तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।
तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले सो भनाई राखेका हुन् । अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए ।
यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन् ।- एजेन्सी