म्यान्माको सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

सोमबार, फागुन २४, २०७७

याङ्गुन । म्यान्मामा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन् । उत्तरी म्यान्माको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ । प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन् । विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए । त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन् । सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए । तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो । म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को संख्यामा नेपालीभाषी छन् ।
गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्माको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ । शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको नेशनल लीग फर डिमोक्रसी (एनएलडी) को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ । आङ सान सू चीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो । उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ । सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन् । परिवारलाई बुझाइएको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् । पत्रकार बगालेका अनुसार प्रहरीथानाभित्रै विश्वकर्माको मृत्यु भएको हुनुपर्छ । विश्वकर्माजस्तै म्यान्मारका विभिन्न स्थानमा पक्राउ परेका अन्य प्रदर्शनकारीको पनि प्रहरीले केही दिनपछि आफन्तलाई शव बुझाउने गरेको छ ।


यागुन पेबेडानमा एनएलडीका स्थानीय नेता खिन माङ लाटको त्यसरी नै प्रहरी हिरासतमा हत्या गरिएको आरोप एनएलडीले लगाएको छ । शनिवार राति पक्राउ गरिएका खिन माङ लाटको शव आइतवार उनको परिवारलाई बुझाइएको थियो । 
विश्वकर्माको जन्म मुसेनजिकै अवस्थित गाउँ नाम्टुमा भएको हो । त्यहाँ नेपालीभाषीको बाक्लो बस्ती छ । विगतमा फलाम खानीको लागि प्रख्यात नाम्टुमा काम गर्न नेपालीहरू १०० वर्षदेखि नै बर्मा आउने गर्थे । मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन् । उनको अन्त्येष्टिमा भएको खर्च मुसेस्थित गोर्खाली समाजले बेहोरेको पत्रकार बगालेले जानकारी दिए । म्यान्मामा सैनिक कूपछि अहिलेसम्म सुरक्षाकर्मीको कारबाहीमा ५० जनाभन्दा धेरै मानिसको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । देशभरिबाट स्तब्ध बनाउने तस्बिर र भिडिओ प्राप्त भइरहेको जानकारी म्यान्मारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन स्क्रानर बर्गनरले दिएकी छन् । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दै आएका छन् ।
सैन्य शासनविरुद्ध आयोजित विरोधप्रदर्शनमा मृत्यु भएका मानिसको सम्मानमा शनिबार एउटा कार्यक्रम गरिएको थियो ।
सैनिक सरकारले भने हिंसात्मक प्रदर्शनविरुद्ध सुरक्षाकर्मीले न्यूनतम बल प्रयोग गरेको बताउँदै आएको छ । सैनिक शासनविरुद्ध प्रदर्शन चर्कि्रदै जाँदा देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ । दुई पक्षबीच झडप हुँदा सयौँको संख्यामा प्रदर्शनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन् ।


झडपपछि अस्पताल पु¥याइएका घाइते तथा मृतकका तस्बिर र भिडिओ अस्पतालबाट बाहिरिन थालेपछि सुरक्षानिकायले आइतवारदेखि देशका विभिन्न भागका अस्पताल र अन्य स्वास्थ्यकेन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । म्यान्डलेमा आन्दोलनकारीहरूले आइतवार आफू सुरक्षित हुनेगरी प्रदर्शन गरेका थिए ।
याङ्गुन मान्डलेसहितका ठूला सहरमा सुरक्षाकर्मीहरू पक्राउ गर्न आउन नसकून भन्दै मूल सडकबाहेक भित्री सडकमा स्थानीयवासीले अनेक प्रकारका बार र पर्खाल लगाउने गरेका छन् । त्यस्तै हरेक राति ८ बजेदेखि बिहान ४ बजेसम्म कफ्र्यूका बेला सुरक्षाकर्मीको प्रतिकार गर्न प्रदर्शनकारीहरूले नागरिक सुरक्षा समूह तयार पारेका छन् । देशैभरि टोलटोलमा बनाइएका त्यस्ता समूहले रात्रिकालीन सुरक्षा दिने गर्छन् । माघ १९ यता आन्दोलनमा सहभागी १,७०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । तीमध्ये धेरैलाई कहाँ राखिएको छ भन्ने कुनै पत्तो नभएको तिनका नातेदार तथा आफन्तले बताउने गरेका छन् ।
दैनिक रूपमा भएका विरोधप्रदर्शनमा सैनिक शासनको अन्त्य र आङ सान सूचीसहित अन्य नेता र निर्वाचित जनप्रतिनिधिहरूलाई रिहा गर्न माग प्रदर्शनकारीहरूले गर्ने गरेका छन् । राष्ट्रसंघ, अमेरिका, यूके, युरोपेली युनियनसहितका अन्तर्राष्ट्रिय समुदायले सेनालाई दमन नगर्न दबाव दिँदै आएका छन् । तर सैन्य नेतृत्वले आफ्नो कदमको प्रतिरक्षा गर्दै आफू ‘वास्तविक अनुशासित प्रजातन्त्रको पक्षमा’ भएको बताउने गरेको छ । प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची तथा अन्य नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । बर्गनरले सेनाका उपप्रमुखसँगको संवादमा संयुक्त राष्ट्रसंघले कडा कदम चाल्ने चेतावनी दिँदा ‘हामीले हाम्रा मित्रहरूसँग मात्र हिँड्न जानेका छौं भन्ने प्रतिक्रिया पाएको बताइन् ।


सेनाले एक वर्षको संकटकाल लगाएको छ र मंसिरमा भएको चुनावको परिणामलाई निष्क्रिय पारिदिएको छ । संकटकालको अन्त्य भएपछि देशमा ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन गराइने सेनाले बताएको छ । झन्डै पाँच करोड ४० लाख जनसंख्या भएको म्यान्मारमा एक लाख २५ हजारको हाराहारीमा नेपालीभाषी भएको नेपालीभाषीको साझा संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघले बताउँदै आएको छ  । यस पटकको प्रजातान्त्रिक आन्दोलनमा नेपालीभाषीहरू पनि अग्रमोर्चामा देखिन्छन् । देशभरि प्रदर्शनकारीहरूको आह्वानमा नागरिक अवज्ञा आन्दोलन पनि भइरहेको छ । त्यस्तो अवज्ञा आन्दोलनमा केही सुरक्षाकर्मीसहित सरकारी कर्मचारी पनि आन्दोलनमा सहभागी भएका छन् । आन्दोलनमा संलग्न हुने सरकारी कर्मचारी र सुरक्षाकर्मीमध्ये गोर्खालीहरू पनि भएको जानकारी साहित्यकार तिलक पोख्रेलले जानकारी दिए ।–बीबीसी 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार