कांग्रेस बैठकमा  निर्वाचनमा गठबन्धनबारे छलफल हुँदै

आइतबार, चैत १३, २०७८

काठमाडौं, १३ चैत : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो । बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।  बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।  अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए ।  गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।  गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् । 

सानेपामा आज प्रदर्शन नहुने, भोलि भेलामार्फत विरोध जनाउने

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमतिबिना नै मनोनयन गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।

गत शुक्रवार देखि सुरु भएको केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय  सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।

‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहररूको भेला भोलि बोलाईएको छ, सोही भेलावाट विरोध जनाउने छौँ’ रानाले न्युज कारखानासँग भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ । 

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार