सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा, १२ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो ।
“अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ”, उनले भने । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष दाहालले उल्लेख गरे । निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिए। आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे । गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए ।
प्रतिगमनको खतरा अझै टरेको छैन नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन् । संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गरे । “प्रतिगमनको खतरा अझै टरेको छैन”, उनले भने, “शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।” नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ”, उनले भने, “सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार सङ्घ प्रदेश हुँदै गाउँसम्म पुगेको छ ।” माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नर्कान नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए । “सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्”, उनले भने, “त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दैै जनताको घरदैलोमा पुग्नुपर्ने बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ ।”