गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न, ‘एमाले/माओवादी मिले भने के गर्ने ? 

शनिबार, चैत १२, २०७८

काठमाडौ, १२ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।  

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए । ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

एमाले/माओवादी नमिल्लान् भन्न सकिन्न : शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए । 

‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नु पर्छ ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड गरे । 

‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनु पर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनु भएको छ,’ कोइरालाले अगाडि भने, ‘यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न ।’ उनका अनुसार एमाले र माओवादी विभाजन भएको अवस्थामा सोचपूर्ण रुपले निर्णय लिनुपर्ने अवस्था छ ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार