सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम, ११ चैत : मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।
पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गरेका हुन् ।
मन्त्रीको उपस्थितिविना नै मधेस प्रदेशसभाको बैठक सञ्चालन
चारचार पटक स्थगित भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक मन्त्रीको उपस्थितिविना नै बैठक सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।
मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छिन् ।
‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बाेधन हुनुपर्छ ।’
मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उनले माग गरेकी छिन् । ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले भनिन् ।