सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ११ चैत : कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि बढाएका हुन् ।
पार्टीको १४ औं महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन् । युवा नेतालाई अगाडि बढाएपछि जनताले पनि विकास र समृद्धिको अपेक्षा गरेका छन् भने राजनीतिमा आफ्नो प्रतिनिधि निर्णायक बन्न पाएपछि उत्साह थपिएको युवा नेताहरू बताउँछन् । देउवाले थापालाई अगाडि बढाउने क्रममा अहिले पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रमा पार्टीको नीति, योजना र कार्यदिशा समेटिने कांग्रेस नेता मीन विश्वकर्माले बताए ।
पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ । थापा संयोजक रहेको समिति गठनबारे आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने नेता विश्वकर्माले बताए । करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ ।
जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने काँग्रेसले जनाएको छ ।
यसरी तयार गरेको घोषणापत्र केन्द्रबाट जारी हुने र यसैको आधारमा स्थानीय उम्मेद्वारले प्रतिबद्धता व्यक्त गर्ने नेता विश्वकर्माको भनाइ छ । केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण पेचिलो बनेको मुलुकको राजनीतिक परिस्थितिमा पनि थापाले निर्णायक भूमिका खेलेको कांग्रेस नेताहरूको बुझाइ छ ।
यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन् । नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन् ।
पार्टीको १४औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसावले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ ।
सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो । १४औं महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन् ।
सान्र्दभिक विषयबस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् । २०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए । २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
निर्वाचनको मुखमै मौलाउँदै कांग्रेसको गुटबन्दी, देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन् । आफू निकटका जिल्ला सभापतिसँगै अन्य नेताहरूसँग छुट्टाछुट्टै भेला गर्दै आएका हुन् ।
३० वैशाखलाई तोकिएको स्थानीय तह निर्वाचन केन्द्रीत हुनुपर्ने बेला उनीहरू निहुँ खोजेर बस्न थालेका हुन् । पौडेलले शुक्रबार बिहान आफू निकटका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । त्यस्तै शेखरले पनि आफू निकट नेताहरूसँग छलफल गरेका छन् ।
पौडेलले आफ्नो निवास बोहराटारमा आफू निकट नेताहरूको भेला बोलाएका छन् । भेलालाई सम्बोधन गर्दै पौडेलले गुटगत नभई कांग्रेस बलियो बनाउन छलफल थालिएको बताए । गुटभन्दा पार्टी र मुलुक बलियो बनाउन खोजिएको उनले प्रष्ट पारे ।
स्थानीय तह निर्वाचनको एजेन्डा, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटलगायतका विषयमा छलफल गर्न भेला बोलाएका थिए । भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य तथा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यहरू दीपक गिरी, मधु आचार्यलगायतका नेताको उपस्थिति थियो ।
भेलालाई सम्बोधन गर्दै पौडेलले लामो समयदेखि संवाद हुन नपाएको र स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा छलफल गर्न बोलाइएको बताएका थिए । उनले बोलाएको भेला पार्टीलाई बलियो बनाउन र नेताहरूसँग छलफल गर्न नभई पार्टी सभापति देउवालाई काउन्टर दिन हो । यदि छलफल नै गर्नुथियो भने आफू निकटका नेताहरूसँग मात्र किन ? यो प्रश्न आम कांग्रेसीले उठाइरहेका छन् ।
यता शेखर पक्षले पनि कांग्रेस केन्द्रीय समितिको बैठकअघि नै भेला डाके । देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष एकलौटी नियुक्त गरेको भन्दै प्रतिवादद गर्न भेला डाकेका हुन् । भेलाले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टि जनाउँदै डा.कोइराला नेतृत्वको समूहले तरुण-विद्यार्थीहरुको भेला आह्वान गरेको हो ।
सभापति देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए । भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको हो ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकाले समानान्तर समिति बनाएर भए पनि प्रतिवाद गर्ने निचोड निकालेको छ । भेलामा नेता कोइराला, केन्द्रीय सदस्यहरू डा.गोविन्द पोखरेल, प्रतिमा गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्यलगायत उपस्थित थिए ।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्न १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’