ह्वाइट हाउस छिर्न निकटता बढाउँदै बाइडन 

अमेरिकाको राष्ट्रपति निर्वाचन
बुधबार, कात्तिक १९, २०७७

काठमाडौं । मंगलबार सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडनले बर्तमान राष्ट्रपति रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पछि पारेका छन् । बाइडेनको यस्तै अग्रता कायमै रहे ४६ औं राष्ट्रपतिका रुपमा उनी ह्वाइट हाउस छिर्ने छन् । निर्णायक रगज्यहरुको मत गणना परिणाम आउन भने बाँकी नै छ । अहिले गणना भएका राज्यमा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म घोषणा भएको मतपरिणामको नतिजामा बाइडन अगाडि छन् । राष्ट्रपति ट्रम्पले उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको नतिजाको आधारमा अमेरिकाको आगामी राष्ट्रपति को बन्ने भन्ने निक्र्यौल हुनेछ ।
अहिलेसम्म घोषणा भएको ३४ राज्यको नतिजा अनुसार बाइडनले २०५ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले १३६ इलेक्टोरल भोट पाएका छन् । यद्यपि जर्जिया, फ्लोरिडा, पेन्सिल्भानिया, विस्कोन्सिन, मिशिगन, एरिजोना, टेक्सास, नर्थ क्यारिलोनाको नतिजा राष्ट्रपति चयनको लागि महत्वपूर्ण हुनेछ । यी सबै राज्यमा ट्रम्प र बाइडनको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
यद्यपि अहिलेसम्मको मतगणनामा एरिजोनाबाहेकका उल्लेखित निर्णायक राज्यमा भने ट्रम्पको अग्रता देखिएको छ । अहिलेको अग्रता कायम राख्न सके ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनेछन् । तर, यी राज्यमा बाइडन पनि धेरै पछाडि नरहेकाले कुनै पनि समयमा उनले ट्रम्पलाई पछि पार्न सक्ने विश्लेषकहरुले बताएका छन् ।
मत परिणामहरु आइरहँदा राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार बाइडनले डेलावेयर राज्यमा समर्थकहरूलाई सम्बोधन गर्दै आफू जितको बाटोमा अघि बढेको विश्वास व्यक्त गरेका थिए । 
उनले निर्वाचन मत परिणामप्रति आफू आशावादी रहेको पनि बताए । उनले आफूहरू  विजय हुने दावी पनि गरे ।
उनले भने,‘जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।’
राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा बसेर चुनावी परिणाम नियाली रहेका छन् । यस पटकको निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भए सन् १९९२ कै परिणाम दोहोरिने छ । सन् १९९२ को निर्वाचनमा पदासीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुश पराजित भएका थिए
निर्वाचन अघि गरिएको राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ । तर कडा प्रतिस्पर्धा हुने विभिन्न ब्याटलग्राउन्ड स्टेट को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ । अघिल्लो पटकको मत सर्वाेक्षणमा हिलारी क्लिन्टनले जित हात पार्ने देखिए पनि डोनाल्ड ट्रम्पले निर्वाचन जितेका थिए । त्यसैले मत सर्वेक्षणलाई पूर्ण रुपमा स्वीकार गरिहाल्ने अवस्था बन्दैन । 
यसपालिको निर्वाचनमा सर्वाधिक संख्यामा मतदाताहरू सहभागी भएका छन् । मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखाउँछ ।
उथलपुथलको वर्ष
परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए ।
फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ । उथलपुथलयुक्त वर्षको अन्त्यतिर राष्ट्रपतीय चुनाव भएको हो ।
ट्रम्पको कदमबारे चिन्ता
दुई लाख ३० हजार व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग अमेरिका अझै जुझिरहेको छ भने उसको अर्थतन्त्र पनि प्रभावित भएको छ । 
जातिवाद र प्रहरी दमनविरुद्ध कैयौँ महिनासम्म चलेका प्रदर्शनले मुलुक प्रभावित भएको थियो ।
ध्यान माथिल्लो सदनमा पनि
अमेरिकीहरूले कङग्रेसमा नयाँ सदस्य र ११ राज्यमा गर्भनर पनि चयन गर्दैछन् । सबैको ध्यान माथिल्लो सदन सिनेटमा केन्द्रित छ ।
रिपब्लिकनहरूको ६ वर्षदेखिको बहुमतलाई अन्त्य गर्दै डेमोक्र्याटहरूले सिनेटमा वर्चस्व कायम गर्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।
यदि त्यस्तो भयो भने बाइडनले जितेमा कार्यक्रमहरू ल्याउन उनलाई सहज हुनेछ भने ट्रम्प दोस्रो कार्यकालका लागि जितेमा उनका योजना रोक्न सकिनेछ ।
संसद्को तल्लो सदन हाउस अफ रेप्रजेन्टेटिभ्समा डेमोक्र्याटिक पार्टीकै नियन्त्रण रहने देखिएको छ ।

कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन्
अमेरिकामा इलेक्टरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ । सबै राज्यलाई तिनको जनसंख्याका आधारमा केही मत दिइएको हुन्छ ।
यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ । 
अमेरिकाका राष्ट्रपति आफ्नो देशका नेता मात्रै नभई सम्भवतः विश्वकै सर्वाधिक शक्तिमान व्यक्ति हुन् ।
डोनल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा गत चार वर्षमा गरेका केही निर्णयहरूको विश्वका धेरै परिदृष्यहरू फेरिएका छन् ।
यो निर्वाचनको नतिजा जे जस्तो भए पनि ट्रम्पले विश्वलाई पारेको प्रभावको चर्चा लामो समय हुनेछ ।
डोनल्ड ट्रम्प अमेरिकाका ४५औँ राष्ट्रपति हुन् । अहिलेसम्म कुनै महिला पनि राष्ट्रपति बनेका छैनन् । 
बिबिसीसको सहयोगमा 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार