सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाैं, ११ चैत : सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसाे बस्दैछ। दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले २९ फागुनदेखि थालेकाे घरदैलाे अभियान २९ चैतमा सकिँदैछ । हालसम्मकाे प्रारम्भिक समीक्षा पनि हुुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।
बोहोराटारमा कांग्रेस सभापतिहरूको भेला : गठबन्धन गर्ने कि नगर्ने निष्कर्ष निकाल्ने
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।
बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन् ।
नेविसंघका अध्यक्ष शेर्पा आज पदभार सम्हाल्दै
नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज शुक्रबार पदभार सम्हाल्ने भएका छन् । दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् ।
नेपाली कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियाे । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।
नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएकाे छ ।
आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएकाे हाे । ‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’
सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ । गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । जसमा कोइराला समूहले असन्तुष्टी जनाउँदै आएको छ ।